काठमाडौं : भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले आज सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटमा नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार-सरकार, संसद-संसद र जनता-जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको बताइएको छ ।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए । नेपालको राजदूत नियुक्त भएपछि क्वात्राले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन् ।