मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जन्मदिनको अबसरमा आज ‘रामनवमी’ पर्व मनाइदै

काठमाडौं । आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर रामनवमी पर्व मनाइँदै छ । सो अवसरमा बत्तिसपुतलीस्थित र पशुपतिनाथस्थित राम मन्दिर परिसरमा भक्तालुहरुको भीड लागेको छ । 
असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । 
रामको जन्मदिनको अबसरमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने धर्मग्रन्थमा उल्लेख छ । रामनवमीको अबसरमा जनकपुरमा पनि विशेष मेला लागेको छ । रामनवमीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया