अविरल वर्षाले काठमाडौँ जोड्ने मुख्य राजमार्गहरु अवरुद्ध

शुक्रबार रातिदेखिको अविरल वर्षाले काठमाडौँ जोड्ने मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । सडकखण्डको ठाउँ—ठाउँमा पहिरो जाँदा पृथ्वीराजमार्ग, अरनिको राजमार्ग, वीपी राजमार्गमा यातायात सेवा प्रभावित भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्ने भीरमा पहिरो जाँदा यातायात पूर्ण रुपमा बन्द भएको छ । पहिरोले अरनिको राजमार्ग र बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।वर्षाका कारण बीपी राजमार्गमा रोशी गाउँपालिका –८ को नार्के, चार सयबेंसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि, वडा नम्बर– ११ कालढुङ्गा र वडा नम्बर –१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई रामजार्ग अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका– ८ स्थित ५२ किलोमा खहरेखोलामा आएको लेदोको कारण राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाले बाढी र पहिरोका कारण देशभरमा ३६ महत्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध भएको छ ।  यस्तै चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौ सडक अवरुद्ध भएको छ ।  यस्तै मनाङको चामेमा बाढीका कारण चामे–बेशीसहर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ । म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  अविरल वर्षाका कारण रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको आवुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्गमा अवरुद्ध भएको छ ।
 

प्रतिक्रिया