काठमाण्डौमा यो वर्षकै सबैभन्दा बढी गर्मी रेकर्ड, तापक्रम ३५.३ डिग्री सेल्सियस मापन

राजधानी काठमाण्डौमा यो वर्षकै सबैभन्दा बढी गर्मी रेकर्ड भएको छ । शनिवार काठमाण्डौको अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको जेठ १७ गते काठमाण्डौको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो । यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । ३५ वर्षपछि काठमाण्डौमा हिजो सबैभन्दा धेरै गर्मी भएको हो । ६ दिनअघि पूर्वबाट भित्रिएको मनसुन अझै मध्य र पश्चिम क्षेत्रसम्म नफैलिएकाले काठमाण्डौसहित पश्चिमी क्षेत्रमा गर्मी बढेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । मनसुन पूर्वबाट बिस्तारै पश्चिमतिर सर्ने क्रममा रहेकाले विस्तारै गर्मी कम हुँदै जाने अपेक्षा गरिएको छ ।अहिले कोशीसहित मधेश र बाग्मती प्रदेशको पूर्वी भेगसम्म मनसुनको प्रभाव देखिएको छ । देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भनृ बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।।

प्रतिक्रिया