कर्णाली प्रदेशको ८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/351211527_924187628684891_1940830438915186704_n_kvJJtuuAa7_sw66ni2piwrwfbfbh5y3kb8suim8llhs9slgj42395i7sdoyjdixisuaw1fi_2u7sGxtoRL_hequjtwqgkbwepatjwebpgfx7st0azedrg6dtvholmbvaeag42qg6p0ftnfd.jpg)
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई थप परिमार्जनसहित निरन्तरता दिएको छ । प्रदेशलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गरिने र प्राङ्गारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधा लगायतका विषयलाई पनि प्राथमिकता राखिएको छ । एक धारा एक घर अभियानलाई निरन्तरता दिइने र सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि पहल गरिने योजना समेटिएको छ । सरकारले स्वास्थ्यमा सुधार ल्याउन ‘कर्णाली स्वस्थ नागरिक’ अभियान चलाइने कार्यक्रम ल्याइएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्न प्रोत्साहन अभियान चलाइने छ । सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने बताइएको छ । साथै कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने योजना नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारले कर्णालीको भाषा, संस्कृतिलाई संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठानसम्बन्धी कानुन बनाइने नीति ल्याएको छ । ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया