बजेटमाथि प्रतिनिधिसभामा जेठ २० देखि छलफल हुने
सरकारले संघीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाएका हुन । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए । लगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उनले बजेट पेश गरेका हुन । अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक २०८१ पनि पेस गर्नुभयो । प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन जेठ २०, २१ र २२ सम्म बजेटमाथि छलफल हुनेछ । प्रतिनिधिसभामा जेठ २३ मा अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनेछन । त्यसअघि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिने तय भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बजेटमा छलफलका लागि आइतवार बैठक बोलाएका छन । सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।
प्रतिक्रिया