विदेशी विनिमय सञ्चिति बढेर १९ खर्ब नाघ्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Rastra-Bank_ebQpRTA4Ga_djyc004lcrr3oxf61w4i4szrmn9dtzaa5zca1uca8eloq5uuuoginppm8gan_Rz3fqjUC8I_sgi6z3lju8cukf8dd2qkxmsppwzairkp770bnxjlx2gohekhduxoll6m8rkw_0povgRjnJe_vnjgm8pf7wub6twsowi5l884enhltvznznjbhtbonso9ke5mpczax4akovig_0uu4vp8DCG_0kvjoq7aatqby7nnaipgcvjhkzqgfn5db0waxswoffifcfc2ugqn7q74wxyb_SQSTP3ltJP_tkkho2n1m5lpht2kzyjqjvfyae09ry2vqdayqw8um0stft5jxkee8nmllxjm.jpg)
मुलुकको विदेशी विनिमय सञ्चिति बढेर १९ खर्ब नाघेको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय विवरणमा २०८१ वैशाखमा विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको जनाइएको छ । कुल विदेशी विनिमय सञ्चिती २६.२ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिती २४.२ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५४ करोड पुगेको छ । यसैगरी चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले १० महिनामा मूल्यवृद्धि ३.०१ प्रतिशतले घटेको दाबी गरेको छ । २०८१ वैशाखमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ ।।
प्रतिक्रिया