मडिया र विज्ञापन उद्योगबीच आचारसंहिता लागू गर्ने सम्झौता

व्यवसायिक रुपमा सकारात्मक आशा जगाउने विश्वास

मिडिया र विज्ञापन उद्योगबीच आचारसंहिता लागू गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापा, राष्ट्रिय विज्ञापन संघ नेपालका धर्मेन्द्र काजी श्रेष्ठ, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेल र मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मिडिया उद्योग र विज्ञापन उद्योगबीच राम्रो सम्बन्ध कायम गर्ने उद्देश्यले आचारसंहितामा हस्ताक्षर भएको हो । आचारसंहिताले कठिन परिस्थितिमा मिडिया र विज्ञापन उद्योगको विकासमा मद्दत पुग्ने विश्वास गरिएको छ । आचारसंहिता लागू भएपछि यस क्षेत्रमा सकारात्मक आशा जगाउने मिडिया एलाइन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकारले बताए । 
आचारसंहिताले विज्ञापन दररेटमा जथाभावी चलिरहेको बिकृतिलाई रोक्न र स्वस्थ प्रतिस्पर्धासहित विज्ञापन ब्यवसायी तथा सञ्चारमाध्यमहरुलाई थप ब्यावसायिक बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । विज्ञापन खर्चमाथिको सीमा तोक्ने सरकारी नीतिका कारण पनि मिडियाहरु आर्थिक रुपमा धरासायी बन्दै गएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ ।
सरकारी निकायहरुले गर्ने विज्ञापन बापत सरकारी ढुकुटीबाट भइरहेको खर्च र सञ्चार माध्यमले पाइरहेको रकमबीच धेरै अन्तर रहेको र अधिकांश रकम अनुचित तवरबाट बिचैमा गायव भइराखेको गुनासो हुने गरेको छ । ब्यावसायिक साझेदारी सम्झौतको मुख्य उद्देश्य मूलधारका सञ्चारमाध्यमहरुमा विज्ञापन कारोबार गर्दा सम्बन्धन प्राप्त एजेन्सीसँग मात्र ब्यावसायिक कारोबार गर्नु रहेको छ ।

प्रतिक्रिया