राष्ट्रपति रामचन्द्र पौडेल भोली युरोप भ्रमणमा जाने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ramchandra_Paudel.2023-06-18-11-54-56_iz3xY7JNPK_9owobr4jhjamwfc7azv9rs7pyciepgoidkk70bgwtxfebftza9xiaoiknq0y_200uUkeCTy_uqkxsx1u6pneytdu3vbf3xgne4rfjvpldaevip7mexpxboy0f0gbgvym3o5y_8qF9CV84OP_uksixtekaledi82sgq7s32a3juaxylyg7suo4woblazzofvp0twrgx3t1k17.jpeg)
राष्ट्रपति रामचन्द्र पौडेल भोली मंगलबार युरोप भ्रमणमा जाने भएका छन । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२औँ उच्चस्तरीय सत्रमा सहभागी हुन उनी स्वीट्जरल्याण्डको जेनेभा जाने भएका हुन । पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहने छिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया