वेस्ट इन्डिज आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको शीर्ष आठमा

घरेलु टोली वेस्ट इन्डिज आईसीसी टी२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । आज विहानको खेलमा न्यूजिल्यान्डलाई १३ रनले पराजित गर्दै उनले अन्तिम आठमा स्थान बनाएको हो । खेलमा वेष्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर १३६ रनमा समेटिएको हो । न्यूजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रन जोडे । फन एलेन २६, मिचेल स्यान्टनरले २१, डार्ली मिचेल १२ तथा रचिन रविन्द्र र जेम्स नीसमले समान १०–१० रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफ चार, गुडाकेस मोटी तीन तथा आन्द्रे रसल र अकील हुसेनले एक–एक विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि शेरफेन रथरफोर्डले ६८ रनको योगदान दिए । त्यसबाहेक निकोलस पुरन १७, अकील हुसेन १४, रोमारियो सेफर्ड १३ रन बनाए  न्यूजिल्यान्डका ट्रेन्ड बोल्टले तीन, टिम साउथी र लोकी फरगुसनले समान दुई–दुई तथा जेम्स नीसम र मिचेल स्यान्टनरले समान एक–एक विकेट लिए । जितसँगै वेस्ट इन्डिजले तीन खेलबाट छ अंक बटुलेको छ । दोस्रो खेल खेल्दा न्युजिल्यान्ड भने जितविहीन छ । न्युजिल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग स्तब्ध बनेको थियो । वेस्ट इन्डिजले समूह चरणको आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्दैछ । सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् । 
 

प्रतिक्रिया