जलवायु परिवर्तनको सबैभन्दा खराब असर नेपालले खेपिरहेको छ: राष्ट्रपति पौडेल

कोष र प्रविधि उपलब्ध गराएर न्याय दिलाउनुपर्नेमा जोड

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार नेपालले खेपिरहेको बताएका छन । स्वीटजरल्याण्डको जेनेभामा जारी ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको बताएका हुन । पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेका र हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेको भन्दै उनले चिन्ता समेत प्रकट गरे । सामाजिक न्यायको कुरा गरिरहँदा विश्व स्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ । उनले जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले नेपालमा स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई नेपालका लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको बताए । 
 

प्रतिक्रिया