वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजवाट सुरु हुँदै

काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा आजदेखि सुरु हुने छ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन लागेको हो । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पु¥याइन्छ । जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ । तीनधारामा पु¥याइएको सेतो मत्स्येन्द्रनाथलाई पुनः पूजाआजा गरी खटबाट निकालेर रथमा राखी तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु¥याइन्छ । रथयात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मछिन्द्रबहालसम्म यात्रा चलाइन्छ । त्यसै गरी बुधबार असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने गरिन्छ । बिहीबार हनुमानढोका, चिकमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ ।  हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । सेतो मत्स्येन्द्रनाथ यात्राको प्रमुख आकर्षण हो । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । यो रथ बनाउन सातदेखि आठ दिनसम्म लाग्ने गर्दछ । दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ ।  रथलाई लगनटोलमा रहेको मत्स्येन्द्रनाथको आमाको मन्दिर परिक्रमा गराई रथयात्रा सम्पन्न भएपछि सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रबहालस्थित मन्दिरमा लगिन्छ ।

प्रतिक्रिया