टी–२० विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि आज राति भारत र दक्षिण अफ्रिका भिड्दै छन् । वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा हुने दुई टोलीबीचको फाइनल भिडन्त नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। सन् २०१० को टी–२० विश्वकप आयोजना गरेको वेस्ट इन्डिजले १४ वर्षपछि फेरि आफ्नो मैदानमा फाइनल खेलाउँदै विश्वकपको नवौँ संस्करण बिदाइ गर्दै छ। यसपटक विश्वकपको फाइनल खेल हुने मैदानमा दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै खेल खेलेको छैन। भारतले भने अफगानिस्तानविरुद्धको १ खेल खेल्ने मौका पाएको छ।  यो मैदानमा जारी विश्वकपको पहिलो खेल सुपर ओभरमा पुगेको थियो। जसमा नामिबियाले ओमानलाई हराएको थियो। जारी विश्वकपमा अपराजित दुवै टोली सोही लय कायम राख्दै विश्व च्याम्पियन बन्न चाहन्छन्। त्यति मात्र हैन, यी दुई टोलीमध्ये जुन टोली विजयी भए पनि विश्वकपको इतिहासमा अपराजित रहेर उपाधि जित्ने पहिलो टोली बन्नेछन्। दक्षिण अफ्रिकाका लागि विश्वकपको फाइनलमा पुग्नु आफैँमा ऐतिहासिक र गर्विलो क्षण हो। किनकि उसले पहिलोपटक कुनै पनि ठूलो प्रतियोगिताको फाइनल खेल्दै छ। दक्षिण अफ्रिका यसअघि सन् १९९२, १९९, २००७, १०१५ र २०२३ गरी पाँच ओडीआई खेल र सन् २००९ र २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलमा पुगे पनि त्यसबाट अघि बढ्न सकेको थिएन। अहिले पहिलोपटक फाइनल पुग्दा दक्षिण अफ्रिका उपाधिका लागि एक कदम मात्र टाढा छ।। आईसीसी टी–२० अन्तर्गत कुनै पनि प्रतियोगिताको फाइनलमा दुवै टोली पहिलोपटक भिड्न लागेका हुन्।

प्रतिक्रिया