मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, सिंहको पक्षमा ६७ मत, विपक्षमा ३४ मत

काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मतदान गरेका छन् । उनको विपक्षमा ३४ मत परेको छ । कांग्रेस, एमाले, जनमत, लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री सिंहलाई मत दिएका हुन् । नेकपा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका सांसदहरुले भने विपक्षमा मतदान गरेका छन् । गत जेठ २५ गते नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री नियुक्त भएका  थिए । मुख्यमन्त्री सिंह आज विश्वासको मत लिनु अघि सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका थिए । मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका हुन् । केन्द्रमा सत्ता गठबन्धन भत्किएसँगै  मधेश प्रदेशमा पनि सत्ता समीकरण बद्लिएको हो ।
 

प्रतिक्रिया