तीन दिन तराई क्षेत्रमा तातो हावाको लहरको सम्भावना

काठमाडौं । मौसम विज्ञान विभाग मौसम पूर्मानुमान महाशाखाले आगामी तीन दिन देशका केही भू–भागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन असार २ गते सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो ।  महाशाखाको बुलेटिनमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहने उल्लेख छ । महाशाखाले तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर थप सल्लाह लिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया