युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजदेखि सुरु हुँदै

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजदेखि सुरु हुँदैछ । आज हुने उदघाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन । एलिनाज एरेनामा खेल राती पौने एक बजे सुरु हुनेछ । जर्मनीका दस रङ्गशालामा ५१ खेल खेलिने छ । ठिक एक महिना चल्ने युरो फुटबलमा युरोपका सर्वश्रेष्ठ २४ टिमको सहभागिता रहेको छ । यी टिमलाई छ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई स्थानमा रहने दुई टिम र चार उत्कृष्ट तेस्रो स्थानमा रहेका टिम अन्तिम १६ मा पुग्ने छन् ।  विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला मानिन्छ । युरो कप जर्मनीमा तेस्रो पटक आयोजना हुँदै छ । सन् १९८८ मा पश्चिम जर्मनीले पहिलो पटक युरो कपको आयोजना गरेको थियो । त्यसपछि सन् २०२० को संस्करणका केही खेल पनि जर्मनी आयोजक थियो । यसै गरी सन् २००६ मा जर्मनीले विश्वकप फुटबलको पनि आयोजना गरेको थियो । जर्मनी र स्पेनले सर्वाधिक तीन तीन पटक युरो कप जितेका छन् । यसै गरी इटाली र फ्रान्स दुई दुई पटकको युरो विजेता हुन् । यसपालि जर्मनी, इङ्ग्ल्यान्ड, स्पेन र फ्रान्स जस्ता परम्परागत हेभिवेट टिमलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । यो पटक पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौँ युरो च्याम्पियन्सिप खेल्दैछन । रोनाल्डो युरोका छ संस्करण खेल्ने पहिलो खेलाडी बन्न लागेका हुन । युरो च्याम्पियन्सिपमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोलको कीर्तिमान रोनाल्डोकै नाममा रहेको छ ।
 

प्रतिक्रिया