गण्डकी प्रदेशको बार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । आज दिउसो तीन बजे बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। गण्डकीमा सत्ता फेरबदलको प्रभावले नीति तथा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ भएको हो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएलगत्तै नीति तथा कार्यक्रम ल्याउन लागिएको छ । जेठ १७ को प्रदेश सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएकोे थियो । यसैविच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सोमबार विश्वासको मत पाएका पाण्डेले आज सांसदद्वय फणीन्द्र देवकोटा र दिपक मनाङे अर्थात राजीव गुरुङलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । उनीहरूलाई आजै शपथ गराउने तयारी छ । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । स्वतन्त्र सांसद मनाङे छैटौँपटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुईपटक मन्त्री बनिसकेका छन् । सर्वोच्चको आदेशले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेले सोमबार सदनबाट ३१ सांसदको समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया