भारतमा लोकसभा निर्वाचनको मतगणना जारी, भाजपा नेतृत्वको गठबन्धनलाई  अग्रता

भारतीय जनता पार्टी नेतृत्वको एनडिए बहुमततर्फ अग्रसर देखिएको छ । जारी मतगणनामा एनडिएले २७० सिटमा अग्रता लिइरहेको छ ।  लोकसभा निर्वाचनमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन अघिल्लो चुनाव भन्दा दोब्बर सिटमा अग्रता लिएको छ ।  पछिल्लो अपडेट अनुसार ५ सय ४३ मध्ये ५०६ सिटको गणना भइरहेको छ । कंग्रेस नेतृत्वको गठबन्धनले सन् २०१९को लोक सभा निर्वाचनमा ९४ सिटमात्रै जितेको थियो। तर अहिले कंग्रेस नेतृत्वको इन्डियाले २१० सिटमा अग्रता लिइरहेको छ । ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो । १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन् । यसपटक जिते भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन् । कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा इन्डिया गठबन्धनमा समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरु भाजपालाई हराउन चुनावी मैदानमा  उत्रिएका छन् । पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिँदै आएका छन । ९७ करोड मतदाता रहेको भारतमा यसपटकको चुनावमा अघिल्लो पटकहरुभन्दा कम मतदान भएको छ ।
 

प्रतिक्रिया