नेवार समुदायमा आज सिथि नखः पर्व मनाइँदै

जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ । यस दिन विषेशगरी कुमारलगायत सबै देवीदेवतालाई मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः बारा चतामरी, मालपुवा, आरुबखडा, काँक्रो र सचुं अर्थात भुटेको नयाँ गहुँको पिठो र चिनीबाट बनेको विशेष प्रकारको रोटी चढाउने र आफूले पनि भोजन गर्ने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी अर्थात मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी समेत खाने गरिन्छ । गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ । सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः अर्थात धान रोपाइँ शुरु हुने भएकोले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

प्रतिक्रिया