झापाका स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, पारिश्रमिक बृद्धि, कर खारेजीको माग

झापाका स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित भएका छन् । दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै चन्द्रगढी स्थित स्वास्थ्य बिमा बोर्डको कार्यालयमा धर्ना दिंदै आन्दोलन गरेका छन् । उनीहरुले पारिश्रमिक बृद्धि, १५ प्रतिशत कर खारेजी, नियमित पारिश्रमिक पाउनुपर्ने लगायतको माग गर्दै बिमा बोर्ड शाखा कार्यालय चन्द्रगढीमा नारा जुलुस सहित विरोध प्रदर्शन गर्दै धर्ना दिएका हुन् । बिमा दर्ता सहयोगीले धेरै दबाब र समस्याका बीच बिमा सहयोगीहरुले गरेको कामको वर्ष दिनसम्म पनि पारिश्रमिक नपाएको बताएका छन । 
आफ्ना माग सरोकारवाला निकाय समक्ष माग राख्दा सुनुवाइ नभएपछि बाध्यवश विरोध प्रदर्शनमा उत्रिएको दर्ता सहयोगी हरुको भनाई छ ।  एक प्रतिशत कर काटिँदै आएकोमा १५ प्रतिशत कर काटिएकोमा समेत उनीहरुले आपत्ति जनाएका छन । २०७४ सालदेखि झापाका सबै वडामा दर्ता सहयोगी नियुक्त गरेर ५० प्रतिशतसम्म घरधुरीको बिमा गराएवापत १० प्रतिशत प्रोत्साहन रकम दिने घोषणा गरेको थियो ।झापामा एक सय ७६ जना स्वास्थ्य बिमा सहयोगी रहेको स्वास्थ्य बिमा बोर्ड झापाका प्रमुख लक्ष्मी कणेलले जानकारी दिइन । जिल्लामा सात लाख १३ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएको जनाइएको छ ।चालू आवमा स्वास्थ्य बिमा सहयोगीको रू ६८ लाख ८३ हजार भुक्तानी गर्न बाँकी रहेको र सोमा कर कटाएर ५८ लाख ६२ हजार भुक्तानी दिन आदेश आएको स्वास्थ्य बिमा बोर्ड झापाले जनाएको छ । 
 

प्रतिक्रिया