बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्‍बाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्‍बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मत लिने मिति भने एमालेका मन्त्रीहरूको राजीनामा पछि तय गरिने बैठकले निर्णय गरेको छ । 

यता एमालेका मन्त्रीहरूले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन् । एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राजीनामा पछि एमालेले नयाँ गठबन्धन अनुसार कांग्रेससँगको गठबन्धनमा सरकार गठनको तयारी गर्ने जनाइएको छ ।

प्रतिक्रिया