सहकारी अपचलन संसदीय छानविन समितिको बैठक आज बस्दै

कार्यविधिमै सदस्यहरुविच फरक मत

सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको तेस्रो बैठक आज बस्दैछ ।  समितिले कार्यबिधि र कार्ययोजना बनाइसकेकाले आज बस्ने बैठकले अनुसन्धानका क्रममा जाने टोली, भेट गर्ने व्यक्ति र आवश्यक कागजात कहिलेसम्म संकलन गर्र्ने लगायतका विषयमा निर्णय गर्ने तयारी गरेको छ । सिंहदरबार स्थित समितिको कार्यलयमा दिउँसो दुई बजे बैठक बस्न लागेको हो । बैठकले ठोस निर्णय गरेपछि समिति विस्तृत रूपमा अगाडि बढ्ने बताइएको छ । समितिले गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको अर्थात् राजनीतिमा आउनुअघि उनी प्रबन्ध निर्देशक भएर काम गरेको गोर्खा मिडिया नेटवर्कको नाम भने उल्लेख गरेरै छानबिन गर्ने बताइएको छ । समितिलाई सहकारी सङ्कटका सम्बन्धमा अध्ययन गरी सुझाव दिने, बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपाय सिफारिस गर्ने उल्लेख छ । त्यसै गरी सरकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक गरेका समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २० संस्थाहरूको बचत फिर्ताको अवस्थाको अध्ययन एवं उपाय सुझाव दिने छ ।  त्यस्तै सहकारी संस्था सदस्य एवं बचतकर्ताबाट सरकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानि नोक्सानी पु¥याएको भनी सघीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका विभिन्न नौवटा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति बुझ्ने भनिएको छ । सो रकम गैरकानुनी रूपमा प्रवाह भए नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने उल्लेख छ ।। 
 

प्रतिक्रिया