भारी वर्षाले जनजीवन प्रभावित

काठमाडौ । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा भारी वर्षा भएको छ । शुक्रवार रातिदेखि नै परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायतका खोला तथा नदीमा बाढी आएको छ ।कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् । अविरल वर्षापछि गएको पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका–३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ । स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका–६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाका नदी किनारको सडकबाट यात्रा गर्ने, बस्नेहरूलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको छ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली भई वर्षा भइरहेको हो । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।

प्रतिक्रिया