रुसी सम्पत्तिबाट युक्रेनलाई पचास अर्ब डलर ऋण दिन जी सेभेन मुलुक सहमत

काठमाडौं । जी–सेभेन राष्ट्रहरूले रुसको जफत गरिएको सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने भएका छन । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा जफत गरिएको उक्त रकम रुसी सेन्ट्रल बैंकको हो ।
रुसको ३ सय २५ अर्ब डलर बराबरको सम्पत्ति जफत गरेकोमा त्यसबाट ब्याज बापत बर्सेनि करिब ३ अर्ब डलर आउने गर्दछ । युक्रेनलाई दिइने ५० अर्ब डलर ऋणको ब्याज सोही रकमबाट तिर्ने व्यवस्था मिलाइने सहमति  इटालीमा भएको जि सेभेनको बैठकमा भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्न जी–सेभेन पछि नहट्ने बताए । पछिल्लो निर्णयपछि मस्कोले भने अत्यन्त पिडादायक प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएको छ । जी सेभेन बैठकको साइड लाइनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडनले १० वर्षे द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई किभले ऐतिहासिक भनेको छ ।  सम्झौता अन्तर्गत अमेरिकाले युक्रेनलाई सैन्य र  प्रशिक्षण सहायता प्रदान गर्ने छ ।  सम्झौतामा अमेरिकाले युक्रेनका पक्षमा युद्ध गर्न सेना पठाउने प्रतिबद्धता भने नभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
 

प्रतिक्रिया