संसद सचिवालयका कर्मचारीहरुको माग पुरा गर्न सरोकारवाला पक्ष सकारात्मक

लिखित सहमति गर्न कर्मचारीको दवाव

 अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् । आज सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, संघीय संसद सचिवालयका महासचिव, सचिवहरु लगायतसँग कर्मचारीहरुको आन्दोलनको सम्बन्धमा छलफलमा माग पुरा गर्न दलहरु सहमति भएका हुन । बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बजेट अभावलाई देखाउँदै संसदीय समिति बैठकमा गैरसरकारी संस्थाले खाजा खुवाउने सम्मको घटना देखिएको भन्दै यस्तो हुनु दुःखद् भएको बताए । 
नेपाली काँग्रेसले संसदका कर्मचारीहरुको माग न्यायसम्मत भएको निष्कर्ष निकाल्दै उनीहरुको माग तत्काल सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संसदका लागि आवश्यक बजेटको तत्काल निकासा गर्न उसले सचेत गराएको हो । 
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले बैठकमा कुनै ठोस सहमति हुन नसकेका बताए । सेवा, सुविधालाई समयानुकुल बनाउनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने उनको भनाइ छ । 
संसदका कर्मचारीहरुले आफूहरुसँग लिखित सहमति नभएसम्म कार्यालय समयभन्दा बढी काम नगर्ने चेतावनी समेत दिएका छन । नेताहरुले भने संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको बताएका छन । 

 

प्रतिक्रिया