सर्लाहीमा सञ्चालित अबैध स्वास्थ्य संस्था र क्लिनिकहरुमा प्रशासनको छापा

सर्लाहीमा गैरकानुनी रुपमा सञ्चालित नीजि स्वास्थ्य संस्था र क्लिनिकहरुमा प्रशासनले छापा मारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको नेतृत्वको टोली छापा मार्न पुगेपछि अधिकांश स्वास्थ्य संस्था तथा क्लिनिकका सञ्चालक पसल बन्द गरेर फरार भएका थिए । डेन्टल क्लिनिक, औषधी पसल तथा निजि स्वास्थ्य संस्था गरि जम्मा ६ वटा स्वास्थ्य निकायमा छापा मार्दा योग्यताविनाका स्वास्थ्यकर्मी कार्यरत रहेको र रेडियोलोजिष्ट विनै एक्स रे सञ्चालनमा रहेको बताइएको छ । अबैध संस्थामाथि कारवाही अघि बढने प्रशासनले जनाएको छ ।  
सर्लाहीका अधिकांस निजि स्वास्थ्य संस्था चर्को सेवा शुल्क लिएर सिकारु स्वास्थ्यकर्मीहरुबाट चेकजाच हुने गरेकोले यस क्षेत्रमा बेथिती बढदै गएको स्थानीयको भनाइ छ । उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील कुरामा खेलबाड नहुनका लागि नियमित अनुगमन हुनुपर्नेमा जोड दिए । 
ग्रामिन भेगबाट आउने बिरामीहरुबाट गैर कानुनी रुपमा संचालित स्वास्थ्य संस्थाहरुले बढि रकम लिएर कमसल सेवा दिने गरेको भन्दै छानविनको माग समेत सर्लाहीबासीले गरेका छन । अनुगमन टोलीमा स्वास्थ्य कार्यालय, मलंगवा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय लगायतका निकायका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया