प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयद्वारा कार्यदल गठन
गृह मन्त्रालयले प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । आज गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेका सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य छन् । गैरेलाई कार्यदलको सदस्य–सचिवको जिम्मेवारी दिइएको गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जनाएको छ । कार्यदललाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।
प्रतिक्रिया