गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा १३ साउनमा फैसला सुनाउने
निर्णय सुनाउने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Gobindraj-1716269572_PFV07dDHEw_cymdi4simc8plybgc4asbnrpddtz32565ye4zbu6qwok1c2gkvpgmtdwpnvy_zCDWWUBYaV_ji5gr3cxyirqjefsdgvgce3wsrigp2gor3ty9icb4lcycwk5twto439lx0pk.jpg)
सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै परेको मुद्दामा १२ वर्षपछि फैसला सुनाउने भएको छ। न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर १३ साउनमा फैसला सुनाउने मिति तय गरेको हो । असार २१ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षलाई समय दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
विशेषको फैसला विरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका हुन् ।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।
०४८ साल देखि २०५९ सालसम्म विभिन्न सरकारी/ सार्वजनिक पदमा रहँदा जोशीले अकुत सम्पत्ति थुपारेको अदालतले पुष्टि गरेको थियो।
प्रतिक्रिया