ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित

निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता  निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति  मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । यस्तै, सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ । गत बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ भने ५५ पशु चौपाया मरेका छन् ।

प्रतिक्रिया