पूर्वी नेपालको ताप्लेजुङ र संखुवासभामा बाढी र पहिरोको प्रकोप

काठमाडौं । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका– २ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको हो । यसैगरी, ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएकी छन् । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । पूर्वी नेपालका केही भू–भागमा लगातार वर्षा हुँदा नदी तथा खोलामा जलसतह बढेको छ ।  जल सतह बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउनु पर्ने मौसम विभागले जनाएको छ । यसैविच सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । खाँदबारी नगरपालिका ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको छ । चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्गअन्तर्गत मुढे–नुम र ठूलोढुङ्गा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया