विश्वकप क्रिकेट: अष्ट्रेलियाद्धारा नामिबिया नौ विकेटले पराजित

आईसीसी टी– २० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियाविरुद्ध फराकिलो जित निकालेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटको आज विहान खेलिएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको हो । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ । टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले नामिबियालाई १७ ओभरमा ७२ रनमा अलआउट गरेको थियो । ७३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाएर ७४ रन बनाएर लक्ष्य पूरा गरेको हो । अस्ट्रेलियका डेभिड वार्नर २० , ट्राभिस हेडले ३४ र मिचेल मार्सले १८ रन जोड्दै अस्ट्रेलियालाई फराकिलो जित दिलाए । नामिबियाका डेभिड वाइजले १ विकेट लिए पनि अस्ट्रेलियाको गति रोक्न नामिबिया असफल रह्यो । यसअघि नामिबियाका लागि जेराल्ड इरासमसले ३६ रन जोडे । मिचेल भान लिङ्गेनले १० रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो इनिङ्समा अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिएका थिए । त्यस्तै जोश हेजलउड र मार्कस स्टोइनसले २÷२ विकेट लिए । त्यस्तै प्याट कमिन्स र नाथन इलिसले १/१ विकेट लिए । अस्ट्रेलिया तीन खेलबाट ६ अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । तीन खेलबाट पाँच अङ्क बटुलेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अङ्क हात पारेको नामिबिया तेस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क जोडेको इङ्गल्यान्ड भने चौथो स्थानमा आसिन छ । यससँगै अस्ट्रेलिया अन्तिम ८ मा पुगेको छ । यसअघि दक्षिण अफ्रिका पनि अन्तिम ८ मा पुगिसकेको थियो ।

प्रतिक्रिया