एक तहको भन्सार सुविधा नपाए मेल्टिङ प्लान्ट चलाउन सकिदैन: छड उत्पादक संघ
नेपाल फलामे छड उत्पादक संघले सरकारले एक तहको भन्सार सुविधा नदिए मेल्टिङ प्लान्ट चलाउन नसकिने बताएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले बजारमा माग घटेर घाटामा सञ्चालन भइरहेका मेल्टिङ उद्योगलाई भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत बनाउने सरकारको नीतिले थप समस्यामा पारेको जनाएको हो । संघले आर्थिक वर्षको बजेटले ३६ अर्ब लगानी भएका र ३ हजार ५ सय भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेका मेल्टिङ प्लान्टलाई धराशायी बनाउने काम गरेको जनाएको छ ।
कच्चापदार्थ आयात गर्दै स्वदेशमा ५० प्रतिशत भ्यालु एडिसन गर्ने उद्द्योगलाई धराशायी बनाउँदै १२ प्रतिशतभन्दा कम भ्यालु एडिसन गर्ने उद्योगलाई पोस्न राज्यले नीति परिवर्तन गरेको आरोप पनि संघको छ ।
स्पञ्ज आइरनको आयातमा २.५ प्रतिशत कर उद्योगलाई एक तह कम भन्सार लगाउने नीति विपरित रहेको संघको भनाइ छ । सरकारले उद्योग लगाउन छुट दिने उद्योगमा लगानी भएपछि अर्को सरकारले नीति परिवर्तन गर्ने अस्थिर व्यवस्थाले मार परेको पनि व्यवसायीको गुनासो छ ।
सरकारसँग स्पञ्ज आइरनमा कम्तिमा एक तह अर्थात ५ प्रतिशत फरक भन्सार लगाउन उद्योगीको माग छ । यदि सरकारले स्पञ्ज आइरनमा एक तह फरक भन्सार लगाएन भने सबै उद्योग बन्द हुने तथा आफूहरूले गरेको ३६ अर्ब रुपैयाँ लगानी डुब्ने व्यवसायीको भनाइ छ । हाल सञ्चालनमा रहेका १८ उद्योगमा ३६ अर्ब रुपैयाँभन्दा बढी लगानी छ ।
प्रतिक्रिया