काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल कोरोना भाइरस मुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् । चीनबाट उद्धार गरिएको १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् । अहिलेसम्म नेपालमा एक जना पनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए ।
पर्यटन मन्त्री भट्टराइले चीनले आफुलाई कोरोनाबाट सम्पूर्ण रुपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए । पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने उनको भनाइ छ ।