ADVERTISING

Breaking News

योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका छन् । विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका हुन् । राष्ट्रिय योग दिवसका अवसरमा राजधानीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताए ।

‘आधुनिक विज्ञान, प्रविधि नभएको बेला, आधुनिक मेडिकल विज्ञानको विकास भएको थिएन । जतिबेला डाइन्गोष्टिक र ट्रिटमेण्डका लागि अहिलेजस्तो सहज सुलभ प्रविधिहरु थिएनन् । हाम्रा अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र अरु धेरै महत्वपूर्ण सम्पदा र ज्ञानहरु हस्तान्तरण गरेर गए’, उनले भने, ‘विभिन्न किसिमका तनावलाई ध्यानले कम गर्न सक्छ । प्रभावकारी छ । यो गौरवपूर्ण धरोहरुलाई विद्यालय शिक्षसँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताए । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्यकले देखाएको बताउँदै उनले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने उनले बताए । ‘मान्छेमा योगको माध्यमबाट सकारात्मक भावनाको विकास गर्न सकियो भने आत्महत्या जस्ता घटनाहरु न्यूनिकरण गर्न सकिन्छ’, ढकालले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताए । योग दिवसका अवशरमा एक दिन कार्यक्रम गरेर मात्रै नहुने बताउँदे उनले यसलाई जनजनमा पुर्‍याउन अभियान नै चलाउनुपर्ने बताए । योग र प्राकृतिक चिकित्सालाई पाठ्यक्रममा समावेश गर्ने योजना सरकारको रहेको उनले बताए । एकहप्ता भित्र योग अभ्यासको पुस्तिका सार्वजनिक गर्ने तयारी रहेको पनि उनले बताए ।

स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वालाई एकतावद्ध गर्न सकिने बताए । उनले योगसम्बन्धि अध्ययन हुने राष्ट्रियस्तरको शिक्षालयको आवश्यकता समेत औंल्याए । भ्रमणवर्ष घोषणा गरेर मात्रै पर्यटक नआउने भएकोले योग, साधनाबाट लाखौं पर्यटक भित्र्याएर महिनौंसम्म नेपालमै राख्न सकिने बताए ।

राष्ट्रिय एकताः योगको सान्दर्भिकता नारा सहित बुधबार योग दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललयको आयोजनामा दिवस मनाइएको हो ।

leave a reply