काठमाडौ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक भएको छ । अमेरिकाको लस एन्जलसमा आयोजित विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले विश्वकपको लोगो सार्वजनिक गरेका हुन । ब्राजिलका विश्व विजेता रोनाल्डोसँग मिलेर उनले लोगो अनावरण गरेका हुन । लोगो सार्वजनिक कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति रहेको थियो । तर सरल डिजाइनकोे भएकै कारण समर्थकहरुले लोगोको मजाक उडाइरहेका छन् ।फिफाका बिजनेश अफिसर रोमी गाईले भने लोगोले समर्थकलाई विस्तारै लोभ्याउने विश्वास प्रकट गरेका छन । सरल लोगोले मानिसहरुलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सहज हुने उनको भनाइ छ । समारोहमा तीन वर्षपछि हुने विश्वकपको फाइनल मिति समेत घोषणा गरिएको छ । सन् २०२६को विश्वकपको फाइनल खेल जुलाई १९ मा हुने भएको छ । विश्वकपमा सहभागी देशलाई टिम घोषणाका लागि मे २५ सम्मको समय दिइएको छ । पहिलोपल्ट फिफाले विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्ने व्यवस्था मिलाएको छ । विश्वकपको १६ खेलस्थल पनि सार्वजनिक भएको छ । खेलहरु अमेरिकाका ११, मेक्सिकोका तीन र क्यानडाका दुई रंगशालामा हुने तय भएको छ ।
२०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक
