काठमाडौ । राष्ट्रिय सभाका सदस्यले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरेका हुन । मिटरब्याजी पीडकहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
अर्की सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिइन । सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको उनको भनाइ छ ।
त्यस्तै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरिन । मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताइन । देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ पार्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै सांसदहरुले सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको, भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्रिय पुस्तकालय व्यवस्थित नभएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।
मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने काम नगर्न सरकारलाई सांसदको चेतावनी
