काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले । उनले ११२ बलमा ९ चौकाको मद्दतमा ७७ रन बनाए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो आठौं अर्धशतक हो ।
आरिफ शेखले ५२ बलमा पाँच चौका प्रहार गर्दै ४३ रन बनाएर आउट भए ।
गुल्सन झाले ३२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले १९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए ।
भीम शार्की २९, कुशल मल्ल ९, कुशल भुर्तेल आठ र आशिफ शेख शून्यमा आउट भए ।
यूएईका आयन अफ्जल खान, रोहन मुस्तफा, जाहोर खान र जावार फरिदले समान २–२ विकेट लिए ।