काठमाडौं : भारत सरकारले दुई सय वटा मिर्गौला डायलासिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मेसिन हस्तान्तरण गरेका हुन् ।
समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले भारतले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाललाई मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।
उनले नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने बताए ।
भारतले कोरोना संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।