नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ । कांग्रेस मनाङका महासमिति सदस्य घलेको मंगलबार दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको उमेरमा निधन भएको हो ।
उनको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शोक विज्ञप्तिमार्फत उनको असामयिक निधन भएको घटनाले कांग्रेस संसदीय दलका तर्फबाट दुःख व्यक्त गरेका छन् । नेता घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।
स्व घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता घले शालिन एवं सरल व्यक्तिको रुपमा परिचित थिए ।
उनी कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन, विस्तार एवं सुदृढीकरणमा सदैव क्रियाशील रहँदै आएको पार्टी कार्यालयले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको समयमा उनले नेपाल सरकारलाई करिब ९ करोड बराबरको स्यानिटाइजर सहयोग उपलब्ध गराएका थिए । नेता घलेको निधनले कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।