काठमाडौं : नेपाल टी-२० लिग क्रिकेटमा फिक्सिङको दाबी गरिएको छ ।
प्रतियोगिताको कमेन्ट्री बक्समा देखिँदै आएका कमेन्टेटर सचिन तिमल्सिनाले सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका छन् ।
लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै कमेन्टेटर तिमल्सिनाले लिगसमेत छाडेका छन् ।
उनले कप्तानको छनोटदेखि खेलाडीको प्रर्दशनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्दै टिम म्यानेजरहरुको भुमिका समेत बदनियतपूर्ण देखिएको बताए ।
दोस्रो चरणको खेल चलिरहँदा उनले लिग फिक्सरको हातमा गएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै भनेका छन्, ‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ, आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ । नतिजामा असर गर्दैन । तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ ।’
फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको समेत उनको दाबी छ ।