ADVERTISING

Breaking News

क्रिकेटर लामिछानेमाथि आज अभियोजन दर्ता गरिदै 

  १२ बर्षसम्म कैद र क्षतिपूर्तिको मागदाबी

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज अभियोजनपत्र दायर हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो । प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुन अनुसार लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । मुलुकी अपराध संहितामा १८ वर्षभन्दा कम उमेरकी महिलालाई बलात्कार गर्ने व्यक्तिलाई १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । मुद्दामा पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ । सरकारी वकिलसँगको बयानका क्रममा सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गरेका छन् । अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ । नाबालिगले बलात्कारको आरोपमा उजुरी दर्ता गरेपछि लामिछाने अहिले प्रहरी हिरासतमा छन । उजुरीमा उनीमाथि भदौ पाँच गते राति पिंगलास्थानको एक होटलमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका गएका लामिछाने स्वदेश फर्के लगत्तै असोज २० गते पक्राउ परेका थिए ।।

leave a reply