ADVERTISING

Breaking News

प्रसूति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’को शुभारम्भ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् ।

प्रसूति गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरेका हुन् ।

मन्त्री खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको गुनासो गरे ।

मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए ।

सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्नपनि उनले निर्देशन दिए ।

मन्त्री खापुङले कोरोनाको संक्रमण बढीरहेकोले स्वास्थ्यकर्मीलाई तयारी अवस्थमा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गरे ।

आमाहरूले दान गर्ने दूध सुरक्षित रूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘मिल्क बैंक’ स्थापना गरिएको हो ।

सातै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य सरकारको छ ।

बिरामी शिशुलाई समयमै आमाको दूध दिँदा ज्यान जोगिने सम्भावना ६ गुणाले बढ्ने हुँदा मिल्क बैंकले समग्र स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान गर्ने सरकारको अपेक्षा छ ।

leave a reply