काठमाडौं : अछामको पञ्चदेवल विनायक चारका १५ वर्षीय विनोद शाहीको मुत्युलाई लिएर आज मंगलसेनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनकारीहरुले जिल्ला अदालत र सरकारी वकिल कार्यालय परिसरमा ढुंगामुढा गरेपछि झडप भएको हो ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रदर्शनमा दुई प्रहरी निरीक्षक सहित १२ प्रहरी घाइते भएका छन् ।
झडपपछि पनि मंगलसेनमा महिला, बालबालिकासहित प्रदर्शन जारी राखेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी लगायतका दलले दोषीलाई कारवाहीको माग गर्दै हिजो र आज दुई दिन यातायात बन्द गरेका थिए । राजमार्गको अवरोध भने प्रहरीले खुलाएको छ ।
शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी प्रमुख अम्बिका चलाउने आइतबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
उनीविरुद्ध किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी भएको थियो । प्रमुखसहित अहिलेसम्म ६ जना आरोपी पक्राउ परिसकेका छन् ।
गत जेठ १७ गतेदेखि वेपत्ता शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थिया । शाहीको हत्या भएको भन्दै आफन्तले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।