एजेन्सी । नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान हार्दिक पाण्डयले अविजित ४० रन जोडे । यस्तै सुबमन गिल र म्याथ्यु वेडले समान ३५ रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङमा उत्रेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो । राजस्थानका लागि जोस बट्लरले ८९ रनको अर्धशतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले ४७ रन जोड्दा देबदुत पडिकलले २८ रन बनाए । गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डयले एक–एक विकेट लिए । जितसँगै गुजरातले डेब्यु सिजनमै आईपीएलको फाइनलमा स्थान बनाएको छ । राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
नवप्रवेशी गुजरात आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश
