काठमाडौ । स्थानीय तहको यस पटकको निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ । महानगरपालिकामा मात्र नभई उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएकाहरु केही निर्वाचित भैसकेका छन् भने कोही जितको नजिक पुगेका छन् । कैलालीको धनगढी उपमहानगर प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा छन् । ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा उनले एमाले र काँग्रेसका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् ।
त्यस्तै सुनसरीको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ राईले काँग्रेसका उम्मेदवारसँग अग्रता लिइरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी पनि ३ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन् ।
स्वतन्त्रबाट निर्वाचित पालिका तथा उम्मेदवारहरु
- महोत्तरीको बर्दिवास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री १४ हजार २१० मत पाएर विजयी भएका छन् । उपप्रमुखमा स्वतन्त्र प्यानलबाट तारादेवी महतो ९ हजार ७३६ मत पाएर विजयी भएकी छन् ।
- भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ विजयी भएका छन् । उनले १ हजार ८१४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेश राईले १ हजार ७८६ मत प्राप्त गरे ।
- माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ ५३५ मत पाएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार तेम्बा गुरुङले ३ सय २ मत पाए ।
- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी १ हजार ८२२ मतले विजयी भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३२५ मत पाए ।
- दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनील वली ६२९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५९७ मत पाए ।
- ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । उनले ६६१ मत पाए ।
- कर्णाली प्रदेश अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भएका छन् । यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । उनले २८८ मत पाएर वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाहीले २ सय मत पाए ।
- पाँचथरको फालेलुङ वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार अनिश गुरागाईं विजयी भएका छन् । उनी काँग्रेसका बागी उम्मेदवार हुन् । उनले ३५९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका श्रीप्रसाद जवेगुले ३१९ मत पाए।
- बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार नारायण मल्ल विजयी भएका छन् । उनले ७२६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर चौधरीले ७०७ मत पाए ।
- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर वली ५७७ मत पाएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मण ओलीले ४१७ मत पाए।
- मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडाअध्यक्षमा विजयी भएका छन् । जसपाका बागी उम्मेदवार रहेका उनले ७१६ मत ल्याउदा निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार दिनेशकुमार यादवले ६३८ मत पाए ।
- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला १ हजार ७० मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाए ।
- सिरहाको सिरहा नगरपालिका वडा नंबर २१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुरेन्द्र मण्डल ४७१ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एसका बालेश्वर यादवले ४३७ मत पाए ।
- मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित निर्वाचित भएका छन् ।
- बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । यस्तै, डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् ।
हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीले १ हजार ६९५ मत पाएर विजयी भए ।
देशभर नगरप्रमुखका लागि कुल ३ हजार ४९९ जनाले उम्मेदवारी दिँदा स्वतन्त्रवाट १ हजार ३९३ जनाको उम्मेदवारी परेको थियो । गाउँपालिका अध्यक्षका लागि देशभरबाट २ हजार ३८७ जनाले उम्मेदवारी दिदां स्वतन्त्रवाट १ हजार ३२ जनाको उम्मेदवारी परेको थियो ।उपप्रमुखमा देशभरबाट २ हजार १५८ जनाको उम्मेदवारी पर्दा ३९६ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । देशभरबाट उपाध्यक्ष पदका लागि २ हजार ४०२ जनाको उम्मेदवारी पर्दा ३६४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।यस्तै वडाध्यक्षका लागि देशभरबाट ३५ हजार २६५ जनाको उम्मेदवारी पर्दा ५ हजार ८९७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।