ADVERTISING

Breaking News

यो बर्ष मनसुन सामान्य भन्दा अघि नै सुरु हुने, औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान

काठमाडौ । नेपालमा यो बर्ष सामान्य भन्दा एक साताअघि नै मनसुन सुरु हुने भएको छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गरेकोमा यो बर्ष एक हप्ता अघि नै भित्रने देखिएको मौसमविदले बताएका छन । मौसमविदका अनुसार अहिले नै यही दिनबाट मनसुन सुरु हुन्छ भन्ने तय भने भैसकेको छैन । भारतको मौसम पूर्वानुमान शाखाले जुन एकमा केरलाबाट मनसुन सुरु हुने जनाएको छ । यो बर्ष मनसुनमा नेपालका विभिन्न भूभागमा औसतभन्दा बढी वर्षा हुने मौसमविद्को अनुमान छ । मधेश प्रदेश र बागमती प्रदेशको दक्षिणी भेगमा औसत पानी परे पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । गत वर्ष पनि मनसुनमा औसतभन्दा बढी पानी परेको थियो । मनसुन अवधिमा नेपालमा औसत १ हजार ४ सय ३० देखि १ हजार ५ सय ३० मिलिमिटर वर्षा हुने गरेको छ । नेपालमा मनसुन जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्दछ । मनसुन दक्षिण हिन्द महासागरबाट सुरु भएर दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दछ । गत वर्ष मनसुनको अवधिभरि प्राकृतिक विपद्का कारण बागमती प्रदेशमा मात्र एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । यस पटक पनि वर्षापछि निम्तिन सक्ने जोखिमप्रति सतर्क रहनुपर्ने विज्ञहरुको भनाइ छ ।

leave a reply