ADVERTISING

Breaking News

स्थानीय निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवारको प्रतिस्पर्धा

आयोगले १९ वटा उच्चस्तरीय टोली बनायो

काठमाडौ । निर्वाचन आयोगले स्थानीय निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार हुने निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएका हुन् ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए । उनले यसअघि नै विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल तोकिएका छन् भने २१ हजार ९५५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्ने पनि पौडेलले जानकारी दिए । निर्वाचनबाट ३५ हजार २२१ जना निर्वाचित हुन्छन् भने निर्विरोध निर्वाचित भएका बाहेकका पदमा मतदान हुनेछ । निर्वाचनमा ११ लाख ४५ हजार ११ जना प्रतिस्पर्धामा उम्मेदवार प्रतिस्पर्धामा रहेको पनि उनले बताए ।​

यसैगरि निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको छ । विभिन्न तुलनात्मक रुपमा संवेदनशील स्थानहरुमा त्यस्तो टोली परिचालन गरिएको आयोगले जनाएको छ ।

टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भएनभएको अनुगमन गरी उक्त कार्य भएको पाइएमा तत्काल कारबाही गरेर आयोगलाई जानकारी गराउने अधिकार दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

leave a reply