ADVERTISING

Breaking News

माओवादी केन्द्रको महाधिवेशन आजबाट शुरु, दिउँसो अध्यक्ष दाहालले प्रज्ञा भवनमा उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दिउँसो तीन बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ । पाँच दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न विस वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तय भएको छ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ । उदघाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रम समेत रहेको छ । सम्मेलनमा कूल एक हजार ६ सय ३१ प्रतिनिधि सहभागी हुनेछन् । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी कूल एक हजार ६ सय ३१ सहभागी हुने भएका हुन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका सात वटै प्रदेश र तीन वटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । माओवादीले सहभागीलाई आफै खाने बस्ने प्रबन्ध गर्न भनेको छ । माओवादीले यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । अध्यक्षमा पुष्पकमल दाहाल दोहोरिने लगभग निश्चित छ । पदाधिकारी १५ सदस्यीय बनाउने निर्णय माओवादी स्थायी समितिले यसअघि नै गरिसकेको छ । माओवादीले नेतृत्वमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ ।

माओवादी केन्द्रीय समिति

यसैबीच, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनको रूप दिने स्थायी समितिको निर्णय अनुमोदन गर्ने छ । शुक्रबारसम्म ‘प्रथम राष्ट्रिय सम्मेलन’ गर्ने भनिरेहको नेकपा माओवादी केन्द्रले अन्ततः यसलाई आठौं महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेसँगै समय पनि थपेको छ । यसअघि पुस ११ देखि १३ गतेसम्म गर्ने भनिएको कार्यक्रम अब पुस १५ सम्म हुनेछ । यसअघि २०६९ माघमा हेटौंडामा सातौं महाधिवेशन गरेकाले माओवादी केन्द्रले आज काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशन भन्ने भएको हो । यसअघि माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गरेर नेतृत्व चयनभन्दा बढी विचारको बहस गर्ने भनेको थियो । तर देशभरबाट आएका सुझाव, शुभकामना र कार्यकर्तामा देखिएको उत्साहलाई ख्याल गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ ।

leave a reply