ADVERTISING

Breaking News

आईसीसी महिला टी–ट्वान्टी छनोटमा नेपालको पहिलो जित

काठमाडौ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा इन्दु बर्माले अविजित १८ रन जोडिन । सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानकी टासी छेकीले एक विकेट लिईन् । यस अघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो । भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडिन् । नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् । सिताले चार ओभर बलिङ गर्दै १० रन खर्चेकी थिइन् । करुणा भण्डारीले एक विकेट लिइन् । यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

leave a reply