काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।बुधबार भएको खेलमा कतारविरुद्ध ६१ रनको जित निकाल्दै नेपालले तीन म्याचको सिरिज जितेको हो । आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै नेपालले सफलता प्राप्त गरेको हो ।
तीन खेलको पहिलो सिरिजमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो ।दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा १ सय ३० रनको लक्ष्य पछ्याएको कतार तीन बल बाँकी छदै ६८ रनमा अलआउट भयो ।कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन् । केरी पोनसेटले १५ रन जोडिन् ।
नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले समान एक–एक विकेट लिए । यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । रुबिनाले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । रुबिनाको यो पहिलो टी(ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।
यस्तै, कविता कुँवरले ३१ रन जोड्दा ज्योति पाण्डेले ६ रन जोडिन्। सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सुन्य रनमा आउट भईन् ।अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सुन्य रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले एक एक विकेट लिईन् ।